Access
to Remedy
Principles
विश्वभरका धेरै कामदारहरू कार्यस्थलमा शोषणको चपेटामा पर्ने गरेका छन् । ती विभिन्न कारण र भिन्न-भिन्न ढङ्गले कमजोर छन् । यी सिद्धान्तहरू कुनै पनि कमजोर कामदारहरूका लागि लागू हुन्छन्, तर ती खासगरी आप्रवासी कामदारहरूको सवालमा लक्षित छन्, जसले प्रायः कार्यस्थलमा यस्ता विशेष जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ ।
आधारभूत सिद्धान्तहरू
#1
सबै [आप्रवासी] कामदारहरूलाई काम गर्ने अधिकार छ ।[1]
#2
कमजोर जोखिमयुक्त कामदारहरूलाई (आप्रवासीहरू लगायत) उनीहरूको करार वा आप्रवास स्थितिको पर्वाह नगरी दुर्व्यवहार वा शोषणबाट सुरक्षित गरिनुपर्दछ ।
#3
सबै कामदारहरूलाई सहायता प्रदान गरिनुपर्दछ र उजुरी गर्न प्रोत्साहित गर्नुपर्दछ । अन्तरसमूहगत कमजोरीहरूमा विशेष ध्यान दिइनु पर्दछ जस्तै महिला आप्रवासी कामदारहरू, जसले यौन दुर्व्यवहारको बढ्दो जोखिम मोल्नुपर्ने हुन्छ र जो लैङ्गिक विभेदमा पर्न सक्छन् । यसले गर्दा उनीहरूलाई गुनासो राख्नमा निरुत्साहित गर्न सक्दछ ।
#4
अधिकार हनन भएका कामदारले सो वापत उचित उपचार पाउनुपर्दछ ।
#5
हरेक कार्यस्थलमा गुनासो सम्बन्धी नीति र संयन्त्रहरू लागू गरिनुपर्दछ ।
#6
व्यक्तिगत र सामूहिक गुनासोहरूको समाधान र उपचारको प्रावधान त्यतिबेला उत्तम हुन्छ जति बेला कामदार र उनीहरूको रोजगारदाता बीचमा समयोचित र प्रत्यक्ष सञ्चार हुन्छ ।
कम्पनीका भूमिका र जिम्मेवारीहरू
#7
कम्पनीहरूले कामदारका अधिकारहरूको उल्लङ्घन रोक्न कदम चाल्नुपर्दछ (जस्तै राहदानी जफत गरेर स्वतन्त्रतामा प्रतिबन्ध लगाउने)।
#8
अधिकार हननको सिकार हुने कामदारहरूको सुरक्षा कुनै पनि उपचार प्रक्रियामा पहिलो प्राथमिकतामा राखिनुपर्दछ ।कार्यस्थलमा प्रायः आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूबाट यौन उत्पीडन र दुर्व्यवहार भोगेका महिलाहरूको सुरक्षाको लागि, उनीहरूप्रति सम्भावित दण्डबाट बचाउनको लागि विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
#9
रोजगारदाताहरूले श्रमिकहरूका लागि आधारभूत अधिकारलाई समेट्ने पारदर्शी रोजगार नीति र प्रक्रियाहरू लागू गर्नुपर्दछ । सबै कामदारहरूलाई उनीहरूका अधिकारका बारेमा बुझ्न प्रशिक्षण दिइनु पर्दछ ।
#10
रोजगार नीति र कार्यविधिहरूमा ठोस गुनासो तथा समाधान संयन्त्र समावेश गरिनुपर्दछ । यी कुराहरू सबै कामदारहरूलाई उनीहरूले बुझ्ने भाषामा र उनीहरूले पहुँच प्राप्त गर्न सक्ने माध्यममा सूचित गर्नुपर्दछ ।
#11
व्यावसायिक ग्राहकहरू (खरिदकर्ता) ले तिनका आपूर्तिकर्ताहरूले अन्तर्राष्ट्रिय उत्तम अभ्यास अनुरूपका ठोस गुनासो तथा उपचार नीति र संयन्त्रहरू लागू गरेको कुरा सुनिश्चित गर्नुपर्दछ । खरीदकर्ताहरूले भ्रम पर्न र दोहोरिन नदिन आफ्नै गुनासो संयन्त्रहरू लाद्नबाट जोगिनुपर्दछ ।
#12
प्रजातान्त्रिक तवरले चुनिएका मजदुर प्रतिनिधिहरू (ट्रेड युनियन भए उत्तम) र रोजगारदाताहरू बीच मध्यस्थता गुनासो सुल्झाउने सबैभन्दा प्रभावकारी तरीका हो । यदि यो सम्भव छैन भने, सरकारी निकाय, विभिन्न सरोकारवालाहरू वा अन्य विश्वसनीय संगठनहरूको सहायता खोज्नु पर्दछ ।
#13
कम्पनीको उजुरी व्यवस्थापन प्रणालीले राज्यका उत्तरदायित्वहरूको पूरक बन्नुपर्दछ, तिनको सट्टामा लागू हुने वा तिनललाई कमजोर पार्ने हुनुहुँदैन ।
#14
कम्पनीको गुनासो व्यवस्थापन प्रणाली श्रमिकहरूसँगको परामर्शमा, सम्भव भएसम्म ट्रेड युनियन प्रतिनिधिहरूसँग वार्ता गरी विकास गर्नुपर्दछ ।
#15
कम्पनीहरूले समस्याहरू रिपोर्ट गर्न श्रमिकलाई प्रोत्साहन गर्नु पर्दछ र कामदारहरूलाई उजुरी वा ह्विसलब्लोइङको परिणाम स्वरूप नकारात्मक परिणाम भोग्नबाट जोगाउनुपर्दछ ।
#16
. ट्रेड युनियन र रोजगारदाताहरू बीच प्रत्यक्ष वार्ता सम्भव नभएको स्थितिमा कम्पनी र कामदारहरूले गुनासो समाधान गर्न र स्वीकार्य समाधानको लागि सहमतिमा पुग्नको लागि सघाउन दुवै पक्षले विश्वास गर्ने स्वतन्त्र तेस्रो पक्षको मद्दत लिनुपर्दछ ।
सरकारी भूमिका र जिम्मेवारीहरू
#17
अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप श्रम कानून बनाई लागू गर्ने र उचित नियमहरू रहेको कुरा सुनिश्चित गर्ने सरकारको दायित्व हो ।
#18
व्यवसायहरूले मजदुरको अधिकारको रक्षा गर्ने श्रम कानूनको पालना गरे-नगरेको अनुगमन गर्ने सरकारहरूको जिम्मेवारी हो ।
#19
सरकारहरूले कानून उल्लङ्घन गर्ने कम्पनीहरू विरूद्ध उचित दण्ड लागू गर्नुपर्दछ ।
#20
सरकारहरूले व्यवसायहरूलाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी खालको कार्यरत गुनासो व्यवस्थापन प्रणाली लागू गर्न प्रोत्साहित गर्नुपर्दछ ।
#21a
आप्रवासी कामदारहरू पठाउने वा लिने हरेक सरकारले सम्बन्धित पठाउने र लाने देशबीच द्विपक्षीय समझौतापत्रमा हस्ताक्षर गर्नुपर्दछ, जसमा मजदुरहरूको अधिकारको संरक्षण र आप्रवासीहरूले भर्ती शुल्कको भुक्तानी मार्फत ऋण बन्धकमा पर्न नदिने कुरा पनि समावेश हुनुपर्दछ ।
#21b
आप्रवासी कामदार लाने र पठाउने देशहरू बीच द्विपक्षीय सम्झौताको बारेमा रोजगारदाता र कामदारहरूलाई सूचित गर्नुपर्दछ । यी सम्झौताहरू कार्यान्वयन र अनुगमनका लागि सरकारहरू जवाफदेही हुनुपर्दछ ।
श्रमिकका अधिकार र दायित्वहरू
#22
सबै कामदारहरूलाई स्वतन्त्र प्रजातान्त्रिक तवरले चुनिएका ट्रेड युनियन वा मजदुर संगठनहरूले उनीहरूको रोजगारदातासँग वार्तामा गुनासो बढाउन सामूहिक रूपमा प्रतिनिधित्व गर्ने र प्रतिनिधित्व गर्ने अधिकार छ।
#23
सबै कामदारहरूलाई उनका अधिकारहरू र गुनासो दायर गर्ने र उपचारमा पहुँच राख्ने विकल्पहरूका बारेमा उनीहरूले बुझ्ने भाषामा र उनीहरूले पहुँच प्राप्त गर्न सक्ने माध्यममा सूचित गर्नुपर्दछ ।
#24
गुनासो प्रणालीको डिजाइन र निरन्तर अनुगमनका सम्बन्धमा श्रमिकहरूको परामर्श लिनुपर्दछ (ट्रेड युनियन प्रतिनिधिहरू मार्फत)।
#25
प्रभावित कामदारहरूलाई उपचार परिणामको प्रभावकारिता र सन्तुष्टि सम्बन्धमा परामर्श लिनुपर्दछ ।
#26
सबै कामदारहरूलाई कार्यस्थलमा रहेका आफ्ना सरोकारहरू राख्न प्रोत्साहित गरिनुपर्दछ र उनीहरूले कुनै गुनासो वा व्हिसलब्लो गर्दा कुनै नकारात्मक नतिजाबाट जोगाइनुपर्दछ ।
तेस्रो पक्षहरू
#27
ट्रेड युनियन र रोजगारदाताहरू बीच प्रत्यक्ष वार्ता सम्भव नभएको स्थितिमा कम्पनी र कामदारहरूले गुनासो समाधान गर्न र स्वीकार्य समाधानको लागि सहमतिमा पुग्नको लागि सघाउन दुवै पक्षले विश्वास गर्ने स्वतन्त्र तेस्रो पक्षको मद्दत लिनुपर्दछ ।
#28
तेस्रो पक्षले आपसी सन्तोषजनक नतिजा प्राप्त गर्नका लागि गोप्यतालाई सम्मान गर्दै प्रमुख पक्षहरू बीच वार्तालाप सुगम बनाउन निष्पक्ष भूमिका खेल्दै सरोकारवालाहरू बीचको विश्वास बढाउन सक्दछन् ।
#29
धेरै सरोकारवालाहरूको संलग्नताले उपचार प्रणालीहरूको क्षमता र प्रभावकारिता सुधार गर्न सक्दछ । सहकार्यलाई सहजीकरण गरेर विश्वासलाई बढाउन सक्छ ।
#30
गुनासो प्रक्रियालाई अगाडि बढाउने तेस्रो पक्ष यौन उत्पीडन र दुर्व्यवहारका गुनासोहरूलाई कसरी संवेदनशील र उचित तरिकाले व्यवस्थापन गर्ने भन्ने विषयमा दक्षता प्राप्त गरेको हुनुपर्दछ ।